समाचार
धार्चे गाउँपालिकास्तरीय अध्यक्ष भलिबल कपका केहि फोटोहरु
धार्चे गाउँपालिकास्तरीय अध्यक्ष भलिबल कप मंगलबार सम्पन्न भएको छ । धार्चे खेलकुद समिति र धार्चे गाउँपालिकाको आयोजनामा माछीखोलामा १० गते देखि सुरु भएको प्रतियोगिता १२ गते सम्पन्न भएको हो ।
पालिकाको वडास्तरीय भएको पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं २ ले जितेको छ । सो प्रतियोगितामा दोस्रो वडा नं १ र तेस्रो वडा नं ३ भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद २० हजार, १५ हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको पालिका अध्यक्षका स्वकीय सचिव राज गुरुङले बताए । सो प्रतियोगितामा सात वटै वडाबाट सात टिमको सहभागिता रहेको थियो ।
वडास्तरीय महिला भलिबलको उपाधि भने वडा नं ५ ले जितेको छ । प्रतियोगितामा दोस्रो वडा नं ७ र तेस्रो वडा नं ६ भएको उनले बताए । उनीहरुले क्रमश नगद १२ हजार, ९ हजार, ६ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा तीन टिममात्र सहभागिता रहेको थियो ।
त्यस्तै, पुरुषतर्फको ५ हजार किलोमिटर दौड प्रतियोगितामा वडा नं ५ का गोविन गुरुङ प्रथम भएका छन् । दोस्रो र तेस्रो वडा नं ४ का प्रीतिमान गुरुङ र उत्तम गुरुङ भएको उनले बताए । उनीहरुले क्रमश नगद ५ हजार, तीन हजार दुई हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त दौड प्रतियोगितामा प्रत्येक वडाबाट दुई÷दुई जना गरी कुल १४ जना खेलाडीको सहभागिता रहेकोे थियो ।
महिलातर्फको तीन हजार किलोमिटर दौड प्रतियोगितामा वडा नं ७ का आइतीमाया गुरुङ प्रथम भएकी छन् । दौड प्रतियोगितामा वडा नं ६ का सुष्मा घले दोस्रो र वडा नं ५ का सुक माया गुरुङ तेस्रो भएको गुरुङले जानकारी दिए । उनीहरुले क्रमश नगद ५ हजार, ३ हजार, २ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको उनले बताए । प्रतियोगितामा प्रत्येक वडाबाट दुई÷दुई जना गरी कुल १४ जनाको सहभागिता रहेको थियो ।
पालिकास्तरीय सटपुट प्रतियोगितामा वडा नं ३ का धन कुमार गुरुङ प्रथम भएका छन् । सो प्रतियोगितामा वडा नं ७ का पदम गुरुङ दोस्रो र वडा नं ६ का दिलिप विक तेस्रो भएको पालिका अध्यक्षका स्वकिय सचिव राज गुरुङले बताए । उनीहरुलाई क्रमश ५ हजार, ३ हजार, २ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको उनले बताए । सो प्रतियोगितामा सात वडा वडाबाट दुई÷दुई जना गरी १४ जना खेलाडीको सहभागिता रहेको थियो ।
पालिकाले जिल्लास्तरीय प्रतियोगितामा खेलाडी छनौट गर्नका लागि र पालिका भित्रका नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सो प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाकी उपप्रमुख सुनिला गुरुङ, पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार, पालिकाका वडा अध्यक्ष, पालिका र वडा सदस्यहरु, धार्चे गाउँपालिका खेलकुद विकास सतितिका संयोजक सुशील गुरुङ लगायतकोको उपस्थितिमा खेलकुद कार्यक्रम सम्पन्न भएको हो ।